
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालकी नवनियुक्त अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिएका छन्। मणिपुरबाट सम्बोधन गर्दै उनले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे।
नेपाल-भारत मित्रताको जोड
मोदीले नेपाललाई भारतको नजिकको साथी र साझा इतिहासले बाँधिएको मुलुकको रूपमा उल्लेख गरे।
उनले भने, “हिमालयको काखमा बसेको नेपाल भारतको नजिकको मित्र हो। १४० करोड भारतीयको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई दिन चाहन्छु। मलाई आशा छ, नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त हुनेछ।”
महिला सशक्तीकरणको उदाहरण
मोदीले नेपालले पहिलो महिला प्रधानमन्त्री पाउनु महिला सशक्तीकरणको ऐतिहासिक उपलब्धि भएको बताए।
उनका अनुसार, “सुशीलाजीको नेतृत्व महिलाको सशक्तीकरणको ठूलो उदाहरण हो। लोकतान्त्रिक मूल्यलाई सर्वोपरि राख्ने नेपाली जनताको संकल्प प्रशंसनीय छ।”
नेपाली युवाको सरसफाइ अभियानको प्रशंसा
मोदीले आन्दोलनपछिको अवस्थामा सडक सफाइ, रंगरोगन र पुनर्निर्माणमा जुटेका नेपाली युवाको खुलेर प्रशंसा गरे।
उनले भने, “नेपालका युवाहरूको सकारात्मक सोच र कर्म केवल प्रेरणादायी मात्र होइन, नेपालको नवोदयको संकेत पनि हो।”