
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का पाँचौँ एससिओ (शाङ्घाई को–अपरेसन अर्गनाइजेसन) ऊर्जामन्त्रीस्तरीय बैठकमा सहभागी हुन सोमबार राति चीन प्रस्थान गरेका छन्। बैठक चीनको झेजियाङ प्रान्तस्थित निङ्बो शहरमा आयोजना हुँदैछ।
ऊर्जामन्त्रीको सचिवालयका अनुसार बैठकमा सहभागी हुने देशहरूमार्फत ऊर्जा विकासका अनुभव, आगामी सहकार्यका सम्भावना तथा नवीनतम प्रविधिमाथि गहन छलफल हुनेछ। बैठक जुन २३ देखि सुरु भई जुन २७ सम्म सञ्चालन हुनेछ।
यस बैठकमा आयोजक राष्ट्र चीनसहित भारत, इरान, काजकिस्तान, पाकिस्तान, रसिया, ताजकिस्तान, उर्वेस्थानजस्ता नौ सदस्य राष्ट्र, तीन पर्यवेक्षक देश र १४ संवाद देशका ऊर्जामन्त्रीहरूको सहभागिता हुनेछ।
ऊर्जामन्त्री खड्काले जुन २६ मा आयोजना हुने “Integrated Innovation for Energy Future” शिर्षकको विशेष सत्रमा मन्तव्य दिने कार्यक्रम तय भएको छ। त्यस्तै, सोही दिन अन्य विभिन्न बैठकहरूमा समेत उनी सहभागी हुनेछन्।
जुन २७ मा भने मन्त्री खड्काले चीनको राष्ट्रिय ऊर्जा प्रशासनका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता तथा सहकार्यबारे छलफल गर्ने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।
नेपालले पछिल्ला वर्षहरूमा हरित ऊर्जामा गरेको लगानी र सहकार्यका अवसरबारे अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्ने यो उपयुक्त मञ्च मानिएको छ।