
काठमाडौं उपत्यकामा पछिल्ला वर्षहरूमा सुकुम्बासीहरूको संख्या तीव्र रूपमा बढेको पाइएको छ। एकीकृत बागमती सभ्यता विकास समितिको अध्ययन अनुसार उपत्यकामा हाल ४ हजारभन्दा बढी सुकुम्बासी परिवार बसोबास गरिरहेका छन्।
२०७९ मंसिरमा थापाथली क्षेत्रबाट सुकुम्बासी हटाउने प्रयास असफल भएपछि उपत्यकाभित्र सुकुम्बासीहरूको संख्या ह्वात्तै बढेको देखिएको हो। विकास समितिको प्रतिवेदनअनुसार काठमाडौं, ललितपुर र भक्तपुरका २० वडाका २७ स्थानहरूमा सुकुम्बासी बस्ती रहेका छन्। यी बस्तीहरू बागमती, विष्णुमती, बल्खु, मनोहरा, धोबीखोला र गोदावरी खोला किनारमा रहेका छन्।
वास्तविक तथ्यांक संकलन गरी दीर्घकालीन समाधान निकाल्ने उद्देश्यले समितिले २०७८ सालमा कार्यदल गठन गरेको थियो। यस कार्यदलमा विभिन्न सरकारी अधिकारी र सरोकारवालाहरूको सहभागिता थियो।
भूमि समस्या समाधान आयोगले काठमाडौं महानगरसँगको सहकार्यमा पुनः सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण संकलन सुरु गरेको छ। यसपटक वडा कार्यालयमार्फत् विवरण संकलन गर्ने योजना रहेको प्रवक्ता सनतकुमार कार्कीले बताएका छन्।
बुढानीलकण्ठ नगरपालिका ९ नं. वडाबाट हालसम्म विवरण संकलन भइसकेको छ जहाँ ७०१ परिवार सुकुम्बासी, भूमिहीन वा अव्यवस्थित बसोबासीको रूपमा फेला परेका छन्। त्यहाँ आयोगले चाँडै लालपुर्जा वितरण प्रक्रिया सुरु गर्ने बताइएको छ।
अहिलेसम्म देशभरबाट १३ लाख ५० हजार परिवारले सुकुम्बासीको रूपमा निवेदन दिएका छन्, जसमध्ये १० लाख ९६ हजार ४ सय परिवार आयोगको प्रणालीमा दर्ता भइसकेका छन्।
इचंगुनारायणमा सुकुम्बासी सार्ने योजना भने अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन। त्यहाँ तीन वटा भवन निर्माण गरिए तापनि सुकुम्बासीहरू स्थानान्तरणमा सहमत नभएको विकास समितिको भनाइ छ।
सुकुम्बासी समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले नयाँ भूमि आयोग गठन गरिसकेको छ, जुन हालसम्मको २३ औं आयोग हो।