
प्रधानमन्त्री केपी शर्मा ओलीले असारको तेस्रो सातामा भारत भ्रमण गर्ने तयारी भइरहेको छ। स्पेन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओली दिल्ली प्रस्थान गर्ने सम्भावना कूटनीतिक तहमा सक्रिय छलफलसँगै बलियो बन्दै गएको छ।
प्रधानमन्त्री ओली असार १५ देखि २० गतेसम्म स्पेनको सेविला सहरमा संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेका छन्। सो सम्मेलनपछि उनी भारत भ्रमणमा जाने सम्भावना प्रबल भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, “भारत भ्रमणबारे दुई देशबीच कूटनीतिक तहमा संवाद भइरहेको छ। स्पेनबाट फर्केपछि प्रधानमन्त्रीको भ्रमण तालिका तय गर्ने तयारी छ।”
यो भ्रमण प्रधानमन्त्री ओलीका लागि निकै प्रतीक्षित रहेको छ। गत वर्ष असार ३१ मा प्रधानमन्त्री बनेदेखि नै भारत भ्रमणको चर्चा भए पनि राजनीतिक र कूटनीतिक कारणले भ्रमण स्थगित हुँदै आएको हो।
स्पेन भ्रमणमा प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत सहभागी हुने बताइएको छ। सम्मेलनमा एलडिसी समूहको अध्यक्ष राष्ट्रका रुपमा नेपालका प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको तर्फबाट प्रतिनिधित्व गर्नेछन्।
भारत भ्रमणका क्रममा दुई देशबीच कूटनीतिक, आर्थिक, र राजनीतिक समझदारीहरूमा छलफल हुने अपेक्षा गरिएको छ। परराष्ट्र, अर्थ, गृह र उद्योग मन्त्रालयले सम्भावित एजेन्डाहरूको तयारी गरिरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, “स्पेन भ्रमण सकिएपछि प्रधानमन्त्री ओली असार २० मा स्वदेश फर्किने र त्यसपछि भारत भ्रमणको मिति घोषणा हुने सम्भावना छ।”
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच सम्बन्ध चिसिएको चर्चा रहे पनि हाल पहलगाम घटनापछि द्विपक्षीय सम्बन्धमा केही सुधार आएको देखिन्छ। नेपालले भारतको आतंकवादविरुद्धको प्रयासमा समर्थन जनाएपछि भारतले पनि कूटनीतिक सम्बन्ध पुनः सुदृढ गर्ने संकेत दिएको छ।