
युनिटी कपअन्तर्गत अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ। युएईस्थित शारजाह क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १२२ रनमा सीमित रह्यो।
१२३ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १२.२ ओभरमै बिना कुनै विकेट गुमाई सहज जित हात पार्यो।
अघिल्ला दुई खेलमा हार व्यहोरेको वेस्ट इन्डिजले अन्तिम खेल जितेर सान्त्वना जित निकाल्दा ओपनर अमिर जाङ्गोले ७४ तथा अकिम अगष्टेले ४१ रन अविजित बनाए। दुवैले मिलेर १२३ रनको शतकीय साझेदारी गर्दै नेपालका बलरलाई कुनै सफलता पाउन दिएनन्।
तर, तीन खेलको सिरिज भने नेपालले २–१ ले जित्दै ऐतिहासिक नतिजा हात पार्यो। पहिलो पटक टेष्ट मान्यता प्राप्त राष्ट्रसँग सिरिज जित्ने मौका पाएको नेपालले इतिहास रच्यो।
नेपालका लागि पहिलो इनिङ्समा ओपनर कुशल भुर्तेलले सर्वाधिक ३९ रन बनाए। उनले २९ बलमा २ चौका र ३ छक्का प्रहार गरे। कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, गुल्सन झाले १० रन जोडे भने अन्य ब्याटर दोहोरो अंक पार गर्न सकेनन्।
बलिङतर्फ वेस्ट इन्डिजका रामोन सिमोन्डले ४ विकेट, जेडिआ वाल्डेजले २ विकेट, जबकि अकेल होसेन र जसन होल्डरले १–१ विकेट लिए।
नेपालले सिरिजको पहिलो खेल १९ रन र दोस्रो खेल ९० रनले जितेको थियो। अन्तिम खेल हार्दा पनि सिरिज नेपालकै पक्षमा रह्यो।
अब नेपालले अक्टोबर ८ देखि ओमानमा हुने पूर्वी एसियन पेसिफिक टी–२० विश्वकप छनोटमा सहभागिता जनाउनेछ।