Join our Channel

नवरात्रको अन्तिम दिन : आज सिद्धिदात्री देवीको विशेष पूजाआराधना

नवरात्रको अन्तिम दिन : आज सिद्धिदात्री देवीको विशेष पूजाआराधना

महान पर्व बडादसैंअन्तर्गत नवरात्रको अन्तिम दिन आज नवौं देवी सिद्धिदात्रीको पूजाआराधना विधिपूर्वक हुँदैछ।

वैदिक सनातन परम्परा अनुसार आश्विन शुक्ल नवमीका दिन प्रत्येक वर्ष देवी सिद्धिदात्रीको पूजा गर्ने प्रचलन छ। मोक्ष दिनुहुने भएकाले यी देवीलाई “सिद्धिदात्री” भनिन्छ। सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरले पूजाआजा गर्ने भएकाले यिनलाई “सिद्धिदायिनी” पनि भनिन्छ।

धार्मिक विश्वास अनुसार सिद्धिदात्रीको पूजा आराधना गरे मनोकामना पूरा हुन्छ। ब्रह्माजीले मार्कण्डेय ऋषिलाई दुर्गाका नौ रूपबारे बताएको र ती नौ देवीको नाम स्मरण गरे मात्र पनि कष्ट र संकट टारिने विभिन्न पुराणमा उल्लेख पाइन्छ।

यस वर्षको नवरात्र घटस्थापनादेखि आज नवौं दिनसम्म क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि र महागौरी देवीको पूजा सम्पन्न भइसकेको छ। अन्तिम दिन आज सिद्धिदात्री देवीको विशेष पूजा हुँदैछ।

नवरात्रमा घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गर्ने चलन छ। नौ दिनसम्म पूजाआराधना गरेर विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद लगाइन्छ।

यस वर्ष विजयादशमी असोज १६ गते बिहीबार परेको छ। मान्यजनबाट दिनभर टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५३ को साइत उत्तम रहेको पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

महानवमीको दिन शक्तिपीठमा विशेष पूजा गर्ने भक्तजनको भीड लाग्ने भएकाले आज उपत्यकासहित देशभरका शक्तिपीठमा दर्शनार्थीहरूको चहलपहल बढेको छ।

Leave a comment