
विदेश पठाइदिने नाममा ठूलो रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन्। सर्बिया र ग्रीस पठाइदिन्छु भन्दै आकर्षक तलबको प्रलोभन देखाएर ३६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ का सजु श्रेष्ठ र पाल्पा रैनादेवी छहरा गाउँपालिका–६ का नारायण लाम्ताङ्गे छन्। दुवैजना हाल काठमाडौं महानगरपालिका–१६ र काठमाडौं–२६ मा बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार
- सजु श्रेष्ठले सर्बिया पठाइदिन्छु भन्दै पीडितहरूबाट २० लाख रुपैयाँ उठाएका थिए।
- नारायण लाम्ताङ्गेले ग्रीस पठाइदिन्छु भन्दै १६ लाख ५० हजार रुपैयाँ लिएका थिए।
तर, पैसा लिएको केही समयपछि उनीहरू सम्पर्कविहीन बनेका थिए।
पीडितहरूले प्रहरीमा उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई काठमाडौं–१६ बाट पक्राउ गरेको हो।
हाल उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।