Join our Channel

वैदेशिक रोजगारीका नाममा १ करोड ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा १ करोड ९२ लाख ठगी, दुई जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई जना काठमाडौंबाट पक्राउ परेका छन् । विभिन्न देशमा राम्रो तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भई काठमाडौं महानगरपालिका–६ बसोबास गर्ने फिन्चु लामा र संखुवासभा खाँदबारी नगरपालिका–३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ बसोबास गर्ने उत्तम खड्का रहेका छन् ।

प्रहरीका अनुसार फिन्चु लामाले लिथुआनिया, रोमानिया लगायतका युरोपेली देश पठाइदिन्छु भन्दै ४५ जनाबाट १ करोड ८० लाख ९३ हजार रुपैयाँ असुलेका थिए । त्यसैगरी उत्तम खड्काले सर्बिया पठाइदिन्छु भन्दै एक जनाबाट २ लाख रुपैयाँ ठगी गरेका थिए । ठगीपछि उनीहरू दुवै जना सम्पर्कविहीन बनेका थिए ।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरेको हो । अहिले उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले यस्ता प्रलोभनमा नपर्न सबैलाई सचेत रहन समेत आग्रह गरेको छ ।

Leave a comment