Join our Channel

कंग्रेस महामन्त्री गगन थापा भन्छन् : २०४६ यताका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौं

कंग्रेस महामन्त्री गगन थापा भन्छन् : २०४६ यताका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग गठन गरौं

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि सरकारमा पुगेका सबै नेताहरूको सम्पत्तिको छानबिन गर्न एक स्वतन्त्र र शक्तिशाली आयोग गठन गर्नुपर्ने प्रस्ताव राखेका छन्।

‘जेन–जी पुस्ता र लोकतान्त्रिक विचार’ विषयक अन्तरक्रिया कार्यक्रममा आइतबार बोल्दै उनले पूर्वन्यायाधीशको संयोजकत्वमा यस्तो आयोग गठन गरेर विगत ३० वर्षयता सरकारमा जिम्मेवारी सम्हालेका सबै जनप्रतिनिधिहरूको सम्पत्ति पारदर्शी रुपमा छानबिन गर्नुपर्ने बताएका हुन्।

“कांग्रेस २०४६ सालको आन्दोलनपछि सत्तामा आएको हो। त्यसयता वडा देखि केन्द्रसम्म सत्ता सम्हाल्ने सबैको सम्पत्ति छानबिन गर्नुपर्छ,” महामन्त्री थापाले भने।

उनले आयोगको नेतृत्व गर्न यस्तो इमानदार व्यक्तिलाई चयन गर्नुपर्ने धारणा राखे जसको कुनै राजनीतिक पूर्वाग्रह नहोस् – न एमाले, न कांग्रेस, न माओवादी। “देशले विश्वास गर्ने स्वतन्त्र पूर्वन्यायाधीश नेतृत्वमा छानबिन आयोग बनाऔं,” उनले स्पष्ट गरे।

जेन–जी पुस्ताको विश्वास जित्न छानबिन अनिवार्य

गगन थापाका अनुसार भ्रष्टाचारविरुद्ध कडा र स्पष्ट नीति बिना नयाँ पुस्ताको भरोसा जित्न सकिदैन।

“छानबिन गर्दा जतिसुकै शक्तिशाली व्यक्ति परे पनि आयोगको निर्णय मान्न तयार भयौं भने मात्र नयाँ पुस्ताले हामीलाई पत्याउनेछ,” उनले जोड दिए।

उनले विगतमा देशको लागि लडेका नेताहरू अहिले परिवारको लागि मात्र कमाउने मानसिकता बनाएको भन्ने धारणा नयाँ पुस्तामा बढिरहेको भन्दै गम्भीर चेतावनीसमेत दिए।

Leave a comment