
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको विभाजनका कारण आगामी निर्वाचनमा कुनै असर नपर्ने स्पष्ट पारेका छन्।
शुक्रबार चितवनस्थित भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन हुने–नहुने विषयमा विभिन्न अड्कलबाजी सुरु भएको उल्लेख गरे। तर, उनले निर्वाचन प्रभावित हुने कुनै सम्भावना नरहेको दाबी गरे।
निर्वाचनको मुखमा ठूलो राजनीतिक दल विभाजन हुनु कसैका लागि पनि राम्रो नभएको टिप्पणी गर्दै प्रचण्डले सरकारका प्रतिनिधि, निर्वाचन आयोग तथा सुरक्षा निकायसँगको छलफलमा पनि कांग्रेस विभाजनका कारण चुनावमा असर नपर्ने स्पष्ट जवाफ पाएको बताए।
उनले सबै राजनीतिक दलहरू अहिले निर्वाचनतिर नै केन्द्रित रहेको भन्दै निर्वाचन समयमै हुनेमा ढुक्क हुन आग्रह गरे।
प्रचण्डले आफ्नो दलका तर्फबाट प्रत्यक्षतर्फको टिकट वितरण प्रक्रिया सुरु भइसकेको जानकारी गराउँदै चुनावी तयारी तीव्र रूपमा अघि बढिरहेको बताए।
उनले वर्तमान परिस्थितिमा निर्वाचन बाहेक अरू कुनै विकल्प नरहेको उल्लेख गर्दै यदि अन्य विकल्पतर्फ सोच्न थालिए त्यसले राजनीतिक दुर्घटना निम्त्याउन सक्ने खतरा रहेको चेतावनी पनि दिए।