
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गणतन्त्र केवल एउटा राजनीतिक व्यवस्था मात्र नभई संस्कारको रूपमा पनि अंगीकार गर्नुपर्ने बताएका छन्।
शुक्रबार नेपाल लोकतन्त्रवादी आदिवासी याक्थुङ संघको प्रथम महाधिवेशनमा बोल्दै उनले पछिल्लो समय गणतन्त्रविरोधी बहसहरू चलिरहेको भन्दै राजतन्त्रको पुनर्स्थापनाको कल्पना पनि नगर्न सबैलाई आग्रह गरे।
संघीयता र विकेन्द्रीकरणको विकल्प सोच्नै नहुने
महामन्त्री थापाले संघीयताको विकल्पबारे सोच्न नहुने स्पष्ट पारे। उनले संघीयता र विकेन्द्रीकरणको पक्षमा कांग्रेस अग्रपंक्तिमा रहेको दाबी गर्दै भने, “गणतन्त्र भनेको आफ्नो धर्म र जातमा आस्था राख्दै गर्दा अन्य जात र धर्मको सम्मान गर्ने संस्कृति हो।”
उनले केही कांग्रेस नेताहरू नै संघीयताविरोधी अभिव्यक्ति दिइरहेको भन्दै स्पष्ट धारणा लिन आग्रह गरे।
गणतन्त्रको मर्म : व्यवहार र सोचमा समानता
थापाले गणतन्त्रको सार मञ्चमा बोलेका कुरा गोप्य कोठामा पनि व्यवहारमा उतार्न सक्ने क्षमता भएको बताए। “महिला, दलित, जनजाति वा अन्य समुदायप्रति मञ्चमा जे बोकिन्छ, गोप्य कोठामा पनि त्यही सम्मानभाव विकास हुनु नै गणतन्त्र हो,” उनले जोड दिए।
थापाले न्याय, समावेशिता, सम्मान र भेदभावविहीन समाज निर्माणमा गणतन्त्रले महत्त्वपूर्ण भूमिका खेल्ने बताए।