Join our Channel

दुई महासंघको विवादले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नेपाली उसु खेलाडी बन्चित

दुई महासंघको विवादले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट नेपाली उसु खेलाडी बन्चित

काठमाडौं, – नेपालमा उसु खेल सञ्चालन गर्ने दुई फरक महासंघबीचको विवादका कारण राष्ट्रिय स्तरका खेलाडीहरू अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुनबाट बञ्चित भएका छन्।

जुलाई २ देखि ७ तारिखसम्म चीनमा हुने एसिया कप उसु च्याम्पियनसिपमा सहभागी हुन छनोट भएका खेलाडी दीपक हमाल र शिव सिलवालसहित पाँच खेलाडीको सहभागिता अन्योलमा परेको छ।

खेलाडीहरूले केही दिनअघि पत्रकार सम्मेलन गर्दै जापानमा गत अक्टोबरमा भएको तेस्रो थाउलु उसु विश्वकपमा सहभागिताको क्रममा आयोजकलाई बुझाउनुपर्ने रकम नतिरेको भन्दै इन्ट्री नपाएको गुनासो गरेका थिए।

रकम तिर्न नसक्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

राष्ट्रिय मान्यता प्राप्त नेपाल उसु महासंघले बिहीबार पत्रकार सम्मेलन गर्दै घटनाको स्पष्टिकरण दिएको छ। महासंघका महासचिव नवराज ढुंगानाका अनुसार, जापान उसु फेडेरेसनले ७,२८० अमेरिकी डलर बुझाउन बाँकी रहेको पत्र नेपाललाई पठाएको छ। समयमै भुक्तानी नभएमा नेपाललाई अन्तर्राष्ट्रिय उसु महासंघको कालोसूची (Blacklist) मा राखिने खतरा रहेको उनले बताए।

विवादले खेलाडीको भविष्य अन्योलमा

पछिल्लो पटक प्रतियोगितामा सहभागी हुने टोलीमा दीपक हमालसहित विजय सिंजाली, पासाङ शेर्पा, राजीव तामाङ र निमा घर्तीमगर थिए। विजयले सो प्रतियोगितामा ऐतिहासिक कांस्य पदक जितेका थिए।

यसैबीच, राष्ट्रिय खेलकुद परिषद्बाट खेलाडीको खाना र बसोबास खर्चको भुक्तानी प्रक्रिया सुरु भइसकेको तर युवा तथा खेलकुद मन्त्रालयमा गएर रोकिएको खेलाडीहरूको भनाइ छ।

सरकार र महासंघबीच अधिकारको द्वन्द्व

राष्ट्रिय मान्यताप्राप्त महासंघका अध्यक्ष शैलेश कर्माचार्यले राज्यले खर्च तिर्न तयार रहे पनि अन्तर्राष्ट्रिय समन्वय अर्को महासंघसँग रहेकाले समस्या आएको बताएका छन्। सरकारले त्यस महासंघलाई अवैधानिक मानेको छ। यही द्वन्द्वले गर्दा खेलाडीको अन्तर्राष्ट्रिय भविष्य अन्योलमा परेको हो।

Leave a comment