Join our Channel

प्रधानमन्त्री बन्ने दाबीपछि जिम्मेवारीको अनुभूति हुन्छ : गगन थापा

प्रधानमन्त्री बन्ने दाबीपछि जिम्मेवारीको अनुभूति हुन्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बन्ने दाबीसहित चुनावी मैदानमा उत्रँदा जिम्मेवारीको अनुभूति अझ बढ्ने बताएका छन्। उनले आगामी पाँच वर्ष सुशासनसहित काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरेका छन्।

काठमाडौँ क्षेत्र नम्बर–४ अन्तर्गत मैतीदेवी मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै थापाले अवसर पाए देशमा सुशासन स्थापित गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाए।

थापाले आफू सर्लाही–४ को उम्मेदवार बनेपछि मधेस क्षेत्रको वास्तविकता नजिकबाट बुझ्ने अवसर पाएको बताए। पहाड र काठमाडौँको राजनीतिक तथा सामाजिक अवस्थाबारे जानकारी भए पनि मधेसको अवस्था बुझ्ने अवसर सर्लाही–४ ले दिएको उनको भनाइ छ।

उनका अनुसार मधेस क्षेत्रमा सामाजिक र आर्थिक अवस्था निकै चुनौतीपूर्ण रहेको छ। उनले पहिलो वर्षदेखि नै सुधारका कार्यक्रम सुरु गर्ने वचन दिएका छन्।

थापाले भने,
“पहिला मधेसको अवस्थालाई बाहिरबाट मात्र हेरेको थिएँ। अहिले बस्तीमा पुगेर मानिससँग बसेपछि त्यहाँको वास्तविकता बुझ्ने अवसर पाएको छु। सर्लाही–४ ले मलाई राजनीतिक रूपमा पूर्णता दिएको छ।”

उनले मधेसमा किसान, दलित समुदाय तथा सीमावर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या नजिकबाट देखेको बताए। उखु किसानको समस्या, मलको आपूर्ति र दलित समुदायको आवास सुधार जस्ता विषयमा सरकारले प्राथमिकता दिनुपर्ने उनले उल्लेख गरे।

उनले भने, “यदि आवश्यक परे अरू मन्त्रालयको बजेट कटौती गरेर भए पनि मधेसका दलित समुदायको घर सुधार गर्ने काम पहिलो वर्षमै सुरु गर्नुपर्छ।”

मतदानपछि थापाले आफ्नो व्यक्तिगत अनुभव पनि सुनाए। उनले यसअघि काठमाडौँ–४ बाट आफू नै उम्मेदवार हुँदा आफ्नो मत आफैंका लागि गणना हुने गरेको उल्लेख गर्दै यसपटक भने आफूले अरू उम्मेदवारलाई मत दिएको अनुभव नयाँ भएको बताए।

उनले भने,
“पहिलो पटक मैले मेरो मत साँझ मेरो नाममा गणना हुँदैन। यो मेरो लागि नयाँ अनुभव हो।”

थापाले यसपटक आफूले काठमाडौँ–४ का युवा उम्मेदवार सचिन तिमल्सेनालाई मतदान गरेको बताएका छन्। आफूले युवा हुँदा पाएको जिम्मेवारी जस्तै नयाँ पुस्तालाई पनि अवसर दिनुपर्ने उनको धारणा छ।

सर्लाही–४ का दुई मतदान केन्द्रमा सामान्य तनाव भएको खबरबारे प्रतिक्रिया दिँदै थापाले स्थिति नियन्त्रणमा रहेको बताए। उनले सबै पक्षबीच छलफल भइसकेको र स्थिति सामान्य रहेको जानकारी दिए।

उनले निर्वाचन शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल र प्रशासनले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उल्लेख गरे।

थापाले मधेसमा चुनाव प्रचारका क्रममा धेरै कुरा सिक्ने अवसर पाएको पनि बताए। उनका अनुसार नेपाल विविधताले भरिएको देश भएकाले नीति निर्माण गर्दा सबै क्षेत्रको अनुभव आवश्यक हुन्छ।

उनले भने,
“पहाड, सहर, गाउँ र मधेस सबै क्षेत्रको अनुभव लिएपछि मात्र राष्ट्रका लागि सही निर्णय गर्न सकिन्छ।”

Leave a comment