
कालीकोटको शुभकालिका–१ गगने खोलामा पुनः पहिरो खस्दा कर्णाली राजमार्ग फेरि अवरुद्ध भएको छ। मंगलबार बेलुकी अवरुद्ध भएको सडक बुधबार दिउँसो खुलेको थियो तर राति परेको वर्षाले फेरि पहिरो गएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी टेकबहादुर रावतले जानकारी दिए।
‘फेरि गगनेमै पहिरो गयो, यहाँको पहिरोले सारै सतायो,’ डीएसपी रावतले भने। उनका अनुसार, असार यता २७ पटक पहिरो झरेर ३४ दिनसम्म यातायात अबरुद्ध भइसकेको छ।
स्थानीयवासीले प्रत्येक वर्षको बर्खामा यस पहिरोले यात्रु र व्यापारलाई ठूलो असर पुर्याउने गरेको गुनासो गर्दै वैकल्पिक मार्गको माग गरेका छन्। नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले भने, ‘दिनहुँ झर्ने पहिरोले निकै दुःख पाइयो, वैकल्पिक मार्गको रूपमा दैलेखको राकम पुल तरेर अछामको चिल्ताडा–भानाकोट हुँदै खुलालु जोड्ने सडक खोल्नु पर्छ।’
उनका अनुसार, अछामको विनायक पञ्चदेवल नगरपालिका र नरहरिनाथ गाउँपालिकाले सहकार्य गरी पल्लो छलबाट सडक ल्याउन सरकारलाई दबाब दिनुपर्ने आवश्यकता रहेको छ।