
काठमाडौं उपत्यकासहित देशभर आज नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा विभिन्न कार्यक्रमसहित मनाइँदै छ। प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिनसम्म चल्ने यो पर्व आजको दिन विशेष रूपमा मनाइन्छ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको स्वरूपमा सिँगारी नगर परिक्रमा गराउने प्रचलन छ। सहभागीहरूलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा नगद दान गर्छन्। धार्मिक विश्वास अनुसार यसरी नगर परिक्रमा गर्नाले मृत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्छन्।
गाईजात्राको सुरुवात राजा प्रताप मल्लको पालामा भएको ऐतिहासिक तथ्य पाइन्छ। पुत्रशोकले दुःखी भएकी रानीलाई संसारमा दुःख सार्वभौमिक हो भन्ने देखाउन राजा प्रताप मल्लले जनतालाई दिवंगत आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि उनले हास्यव्यंग्यात्मक कार्यक्रम पनि समावेश गर्न आदेश दिए, जसको परम्परा आजसम्म कायम छ।
पाटन, भक्तपुर, काठमाडौं लगायत उपत्यकाका शहरमा गाईजात्रा हनुमानढोका दरबार हुँदै जाने पुरानो परम्परा अझै चलनमा छ। यस अवसरमा सामाजिक विकृति र विसङ्गतिप्रति व्यंग्य गर्ने प्रदर्शन, नाचगान, करुण रसका गीत तथा हास्य–व्यंग्य कार्यक्रम हुन्छन्।
विसं २०१७ को शाही ‘कू’पछि केही समय गाईजात्रामा व्यंग्यमूलक प्रदर्शनमा प्रतिबन्ध लगाइएको थियो। तर विसं २०३३ देखि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले पुनः महोत्सवका रूपमा झाँकी, व्यंग्य र नाटकसहित मनाउन थालेको हो। आजभोलि यस पर्वमा हाँस्य कलाकारहरूले विशेष प्रस्तुति दिन्छन् र पत्रपत्रिकामा व्यंग्यमूलक विशेषाङ्क प्रकाशित हुन्छ।
काठमाडौं उपत्यका बाहेक बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरा लगायत नेवार समुदाय बसोबास रहेका सहरमा गाईजात्रा विशेष रौनकका साथ मनाइन्छ। काठमाडौं उपत्यकामा आज सार्वजनिक बिदा पनि दिइएको छ।