Join our Channel

८ क्विन्टल गाँजा तस्करीका मुख्य आरोपी २.५ वर्षपछि पक्राउ, कोशी नदी पार गराउँदै गर्दा फरार भएका थिए

८ क्विन्टल गाँजा तस्करीका मुख्य आरोपी २.५ वर्षपछि पक्राउ, कोशी नदी पार गराउँदै गर्दा फरार भएका थिए

दुई वर्षभन्दा बढी समयदेखि फरार रहेका एक गाँजा तस्करीका आरोपीलाई प्रहरीले अन्ततः पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय भारदहले आइतबार राति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ का ३५ वर्षीय जोगानन्द मण्डल उर्फ बुधनलाई पक्राउ गरेको हो।

२०७९ साल पुस १४ गतेको दिन मण्डलले कोशी नदी पार गर्दै भारत तर्फ लागुऔषध गाँजा तस्करी गर्न लागेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालित भएको थियो। प्रहरीले कोशी ब्यारेजस्थित गोलदेखि ५ सय मिटर उत्तर–पूर्वको कोशी भंगालको पूर्वी टापुमा विशेष अपरेशन चलाएर ८ क्विन्टल १० किलो गाँजा बरामद गरेको थियो।

सो गाँजा बालुवामुनिबाट २७ वटा बोरामा लुकाएर राखिएको अवस्थामा फेला परेको थियो। तर घटनाको समयमा मुख्य आरोपी मण्डल भने फरार हुन सफल भएका थिए।

प्रहरीको लामो खोजीपछि २.५ वर्षपछि मण्डललाई पक्राउ गरिँदा अहिले उनलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन्। साथै, मण्डलमाथि थप मुद्दाहरुमा पनि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a comment