Join our Channel

जेन–जीले सुशीला कार्कीलाई नेतृत्वका लागि प्रस्ताव

जेन–जीले सुशीला कार्कीलाई नेतृत्वका लागि प्रस्ताव

नेपाली सेनाको सहजीकरणमा हुन लागेको वार्तामा जेन–जी युवाहरूले मुलुकको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेका छन्। उनीहरूले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कार्कीको नाम नेपाली सेनासमक्ष राखेका हुन्।

जेन–जीले कार्कीमा कानुनी पृष्ठभूमि, राजनीतिक सुझबुझ र परिपक्वता भएकाले उनलाई प्राथमिक रोजाइको रूपमा अघि सारेका छन्। यससँगै काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र स्वतन्त्र उम्मेदवार सागर ढकाललाई वैकल्पिक नामका रूपमा राखिएको छ। कुलमान घिसिङको नामसमेत प्रस्तावमा रहेको बुझिएको छ। तर प्रारम्भिक प्रतिक्रियामा बलियो समर्थन सुशीला कार्कीमा देखिएको छ।

जेन–जीका विभिन्न समूहले ग्रुप च्याट र च्यानलमा पाँच हजारभन्दा बढी युवाबाट ‘लाइभ अभिमत’ लिएर कार्कीको पक्षमा मत सङ्कलन गरिरहेका छन्। यसअघि विभिन्न भर्चुअल बैठकमा पनि कार्कीलाई नेतृत्वका लागि प्रस्ताव गर्ने समझदारी बनेको थियो।

युवाहरूले अहिलको परिस्थितिमा निष्ठावान्, निर्भीक र सर्वस्वीकार्य व्यक्तिलाई नेतृत्वका लागि आवश्यक रहेको बताउँदै वैकल्पिक नाममा मात्रै बालेन शाह वा सागर ढकाललाई अघि सार्ने निर्णय गरेका छन्।

मंगलबार राति जेन–जी समूहका प्रतिनिधि र प्रधानसेनापति अशोकराज सिग्देलसँग अनौपचारिक छलफल भएको थियो भने बुधबार दिउँसो पनि तीन घण्टा छलफल गरिएको थियो। ती बैठकमा शिव यादव, रक्षा बम, समय खड्का, पुरुषोत्तम यादव, तनुजा पाण्डे, अमित खरेल, धिरज जोशी, योञ्जन राजभण्डारी, वर्षा बुढाथोकीलगायतका प्रतिनिधि सहभागी थिए।

सुशीला कार्की नेपालको सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश हुन्। उनी २०७३ असार २७ देखि २०७४ जेठ २४ सम्म पद सम्हालेकी थिइन्। जन्म २००९ जेठ २५ मा मोरङको विराटनगर शंखपुरमा भएको कार्कीले बिए र राजनीति शास्त्रमा एमए गरेकी हुन्। त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गरेकी उनी २०६७ सालमा स्थायी न्यायाधीश बनेकी हुन्।

पूर्वप्रधानन्यायाधीश कार्कीले आफ्नो कार्यकालमा निष्पक्ष भूमिका निर्वाह गरेकी थिइन्। उनी भ्रष्टाचार र सुशासनका मुद्दामा निर्णायक र प्रभावशाली भएको भन्दै जेन–जी युवाहरूको प्रस्तावमा उनको प्राथमिकता देखिन्छ।

Leave a comment