
वैदेशिक रोजगारीको नाममा ग्रिस लैजान्छु भन्दै ३७ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन्।
प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति गोरखा जिल्लाको वारपाक सुलिकोट गाउँपालिका–४ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२६ गल्कोपाखामा बस्दै आएका राजेश बराम हुन्।
उनीमाथि ग्रिसमा राम्रो तलब हुने आकर्षक रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्तिहरूसँग ३७ लाख रुपैयाँ संकलन गरी सम्पर्कविहीन भएको आरोप लागेको छ। ठगीमा परेको भन्दै पीडितहरूले प्रहरीसमक्ष उजुरी दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं–१६, सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरेको हो।
हाल उनलाई थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।