
नेपालमा आज मनसुन सक्रिय रहँदा देशभरको मौसम सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागका केही स्थान र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागमा एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।
यस्तै, आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी, मधेश, बागमती र गण्डकीको पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
महाशाखाले वर्षा बढ्ने क्रममा पहिरो, बाढी तथा नदी–नाला थुनिन सक्ने भएकाले सतर्क रहन पनि सबैलाई अनुरोध गरेको छ।