
भदौ २४ गते जेनजी समूहको नाममा भएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (सङ्घीय संसद् भवन) पुरानै स्वरूपमा पुनर्निर्माण गरिने भएको छ।
बुधबार सो स्थलमा पुगेर अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले निरीक्षण गरेका थिए। निरीक्षणपछि अर्थमन्त्री खनालले क्षतिग्रस्त भवनलाई यथास्थितिमा पुनर्निर्माण गर्ने जानकारी दिए।
यसैक्रममा मन्त्री घिसिङले भने, आगामी पुससम्म सिंहदरबार परिसरमा निर्माणाधीन संसद् भवन सम्पन्न हुने र संसद्को बैठक त्यहीँबाट सञ्चालन हुने स्पष्ट पारे।
सिंहदरबार संसद् भवनको प्रगति
- सिंहदरबारको पुतली बगैँचास्थित १७३ रोपनी ८ आना (८८,२७१ वर्ग मिटर) क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको आधुनिक मोडलमा संसद् भवन निर्माण भइरहेको छ।
- निर्माणको हालसम्म ८६ प्रतिशत काम सम्पन्न भएको छ।
- ठेक्का म्याद पुस १६ गतेसम्मको भए पनि सोही अवधिभित्र काम सक्ने योजना छ।
- नयाँ संसद् भवनमा काठमाडौँ उपत्यकाको स्थानीय वास्तुकला झल्किने गरी डिजाइन गरिएको छ।
गुरुयोजना अनुसार संरचना
- भवन क्षेत्र : २७%
- खुला हरियाली क्षेत्र : ४५%
- बाँकी भाग : सडक पूर्वाधार र ‘वाटर बडी’
- सम्पूर्ण संरचना ‘हाई–टेक’ इन्जिनियरिङ प्रविधिमा आधारित
यस परियोजनाको कुल लागत ५ अर्ब ३ करोड रुपैयाँ (भ्याटबाहेक) रहेको छ। निर्माणको जिम्मेवारी **नेपाली कम्पनी टुन्डी र चिनियाँ कम्पनी सेक (संयुक्त)**ले पाएका छन्।