Join our Channel

शुक्लाफाँटमा वन्यजन्तु नियन्त्रणका लागि ५८ स्वचालित बत्ती जडान

शुक्लाफाँटामा वन्यजन्तु नियन्त्रणका लागि ५८ स्वचालित बत्ती जडान

शुक्लाफाँट नगरपालिका–७ मा वन्यजन्तु नियन्त्रणका लागि ५८ वटा स्वचालित (सेन्सरयुक्त) बत्ती जडान गरिएको छ। बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको स्थानीयवासीले बताएका छन्।

तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमार्फत बत्ती जडान गरेको हो। समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार, बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिने भएकाले बालीनाली र मानवीय क्षति कम भएको छ।

‘यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ,’ अध्यक्ष विष्टले भने। उनका अनुसार, हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः बस्तीमा पस्ने गरेका थिए।

बत्ती जडानसँगै समितिले करिब तीन किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ। जसका कारण बस्ती र खेतबारीमा जनावर प्रवेश कम भएको छ।

शुक्लाफाँटा–७ का वडाध्यक्ष प्रतापसिंह धामीका अनुसार, स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रण गर्न सहयोग पुगेको छ। उनले भने,
“पहिले हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्थ्यो, घर नजिक आएपछि मात्रै थाहा पाउँथ्यौं। अहिले बत्तीको कारण टाढैबाटै देख्न सकिन्छ।”

समितिले आगामी आर्थिक वर्षमा थप स्वचालित बत्ती जडान गर्ने प्रस्ताव समेत पेस गरेको छ।

Leave a comment