
इरान–इजरायल युद्धका कारण समस्यामा परेका दुई जना नेपाली नागरिकलाई भारत सरकारको सहायतामा इरानबाट सफलतापूर्वक उद्धार गरिएर आज नयाँ दिल्ली ल्याइएको छ।
उद्धार गरिएका नेपालीहरू हुन् – गणेशप्रसाद पोखरेल र सुमन गैरे। उनीहरूलाई इरानस्थित भारतीय दूतावासले उद्धार गरी नयाँ दिल्ली ल्याएको हो।
इरानमा अझै १४ जना नेपाली
इरानमा रहेका १६ जना नेपालीमध्ये ५ जना हाल जेलमा छन् भने बाँकी ११ जनाको उद्धार प्रक्रिया अघि बढाइएको छ।
यी ११ जना मध्ये ९ जनाले इरानी कानुनअनुसार आवश्यक कागजात पूरा नगरेकाले भारतले पठाएको उद्धार उडानमार्फत फर्किन पाएका छैनन्।
किन रोकियो ९ जनाको उद्धार?
दिल्लीस्थित नेपाली दूतावासका अनुसार, मसादमा पुगेका ती ९ जना नेपालीसँग उडानका लागि अनिवार्य कानुनी कागजात नहुँदा उद्धार प्रक्रिया रोकिएको हो।
हाल उनीहरू भारतीय नागरिकहरूसँगै मसादको एक होटलमा सुरक्षित रूपमा राखिएका छन्।
इरानस्थित भारतीय दूतावासले बाँकी नेपालीहरूलाई पनि उद्धार गर्ने तयारी भइरहेको जानकारी दिएको छ।
परराष्ट्र मन्त्रीको आग्रह
परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इरानमा रहेका सबै १६ जना नेपाली नागरिकको उद्धारमा सहयोग गर्न भारत सरकारसँग विशेष आग्रह गरेकी थिइन्।
कागजात तयारी र अनलाइन भिसा प्रक्रिया
परराष्ट्र मन्त्रालयका अनुसार:
- जेलमा रहेका नेपालीहरूको कानुनी प्रक्रिया र उद्धार कागजातको तयारी भइरेहेको छ।
- हाल हवाई मार्ग बन्द भएकाले सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा दिलाउन खाडी देशस्थित नेपाली नियोगहरूलाई निर्देशन दिइएको छ।