
इजरायल–इरान युद्धको तनाव झनै चुलिँदै जाँदा अमेरिकाले समेत प्रत्यक्ष रूपमा हस्तक्षेप गरेको छ। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन महत्वपूर्ण परमाणु केन्द्रहरूमा बमबारी गरिएको जानकारी दिएका छन्।
ट्रम्पका अनुसार, इरानको फोर्दो, नतान्ज र इस्फहान नामक परमाणु केन्द्रहरूमा शुक्रबार राति (नेपाली समयअनुसार आइतबार बिहान ४:४५ बजे) आक्रमण भएको हो।
उक्त कारबाहीपछि ट्रम्पले सामाजिक सञ्जालमा लेखे, “सबै अमेरिकी विमानहरू सुरक्षित रूपमा फर्केका छन्। हाम्रो महान् अमेरिकी सेनालाई बधाई! संसारमा यति सक्षम सेना अरु छैनन्। अब शान्तिको समय सुरु हुनुपर्छ।”
ट्रम्पले अर्को पोस्टमार्फत् इरानलाई वार्ता मार्फत युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।
इरानको सरकारी समाचार एजेन्सी IREB का अनुसार आक्रमण हुनुअघि इरानी पक्षले ती तीनवटै परमाणु केन्द्रहरू खाली गरिसकेको थियो। यद्यपि कति क्षति भयो भन्ने विवरण अझै सार्वजनिक गरिएको छैन।
इरानी पक्षले अमेरिकी हमला रोक्न प्रयास गरे पनि सफल नभएको इरानी सञ्चारमाध्यम ‘मेहर न्युज’ले जनाएको छ।
यसबीच, यमनका हुथी विद्रोहीले अमेरिकाले इरानी केन्द्रहरूमा गरेको बमबारीको विरोध जनाएका छन्। हुथी नेता मोहम्मद अल–फराहले यस आक्रमणले युद्धको अन्त्य होइन, सुरुवात भएको बताएका छन्। उनले चेतावनी दिँदै भने, “अब हिट एन्ड रन रणनीतिको समय सुरु भएको छ।”