
कामना सेवा विकास बैंक लिमिटेडले नेपालकै पहिलो ‘डोर स्टेप बैंकिङ सेवा’ सुरु गरेको छ। यो सेवा बैंकको ‘विशिष्ट बचत खाता’ अन्तर्गत सञ्चालन गरिएको हो, जसले ग्राहकलाई आफ्नो घर वा कार्यालयमै बैंकिङ सुविधा प्राप्त गर्ने अवसर प्रदान गर्दछ।
बैंकका अनुसार यो सेवा विशेषगरी दैनिक रूपमा व्यस्त व्यवसायी, कार्यालय कर्मचारी, गृहिणी तथा ज्येष्ठ नागरिकहरूका लागि निकै उपयोगी हुनेछ।
अत्याधुनिक डिजिटल प्रविधिमा आधारित यो सेवामार्फत ग्राहकहरूले नगद जम्मा, खाताबाट नगद निकासी, चेकबुक माग, बैंक स्टेटमेन्ट, ब्यालेन्स प्रमाणपत्रलगायतका सेवा घरमै बसेर लिन सक्नेछन्।
यो सबै सेवा पूर्ण रूपमा निशुल्क प्रदान गरिने बैंकले जनाएको छ।
ग्राहकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत सेवा अनुरोध गर्न सक्छन्। अनुरोध प्राप्त भएपछि बैंक प्रतिनिधि स्वयं ग्राहकको ठेगानामा पुगेर सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिसहित सुरु गरिएको यो सेवा नेपालकै पहिलो डोर स्टेप बैंकिङ सुविधा भएको बैंकले दाबी गरेको छ। बैंकका प्रमुख मार्केटिङ अधिकृत दिपेन्द्र सुवेदीका अनुसार, यो सेवा ग्राहक सन्तुष्टि, सहजता र सुरक्षामा केन्द्रित छ।
उनका अनुसार, “डोर स्टेप बैंकिङले ग्राहकलाई बैंकमा लामो लाइनमा बस्ने झन्झट, कागजी प्रक्रिया र समयको खेरजाने समस्या समाधान गर्नेछ।”
यो सेवाअन्तर्गत लकर सेवा, एटीएम डेबिट कार्ड र मोबाइल बैंकिङ समेत निशुल्क उपलब्ध हुनेछ।
हाल यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरु गरिएको छ र देशभर विस्तार गर्ने तयारी बैंकले जनाएको छ।