Join our Channel

‘सम्राट’ राजु परियार सातौं पटक पक्राउ: जेनजी आन्दोलनमा प्रहरीको हतियार खोसेका थिए

‘सम्राट’ राजु परियार सातौं पटक पक्राउ: जेनजी आन्दोलनमा प्रहरीको हतियार खोसेका थिए

जेनजी आन्दोलनका क्रममा प्रहरीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने ‘सम्राट’ राजु परियार फेरि पक्राउ परेका छन्।

कालो ट्राउजर, टोपी र माक्स लगाएर सिंहदरबारको मूलगेटमा प्रहरीको एसएलआर राइफल कक गर्दै उभिएको उनका फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई स्वचालित राइफल बोकेर उशृंखल गतिविधि गरेको आरोपमा ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो।

३६ वर्षीय परियार ललितपुरका बासिन्दा हुन् र यसअघि पनि उनी ६ पटक पक्राउ परिसकेका थिए। यो पटक उनको सातौं गिरफ्तारी हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईका अनुसार, परियारले आन्दोलनको दिन प्रहरीको हतियार खोस्ने, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न भएको आरोप लागेको छ।

उनीविरुद्ध मुलुकी अपराध संहिता दफा २८५ अनुसार आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको छ। अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ।

प्रहरीका अनुसार, परियारले खोसेको हतियार अझै फेला परेको छैन। बयानका क्रममा उनले “हतियार सेनालाई बुझाएको” बताएका छन्, तर प्रहरीले यसबारे पुष्टि गर्न सकेको छैन।

उनको आपराधिक पृष्ठभूमि पनि लामो र जटिल रहेको छ। उनीविरुद्ध ठगी, हत्या प्रयास, बैंकिङ कसूर र अभद्र व्यवहारजस्ता ८ वटा उजुरी दर्ता छन्।

पहिलोपटक २०७५ पुसमा बानेश्वर वृत्तमा ठगी मुद्दा दर्ता भएयता उनले दुईवटा हत्या प्रयास, तीनवटा ठगी, एक बैंकिङ कसूर र दुईवटा अभद्र व्यवहारका मुद्दा सामना गरिसकेका छन्।

प्रहरीका अनुसार, उनलाई गंगामाया देउला, रोमन महर्जन, रवि तामाङ, लिलाधर गिरी, ऋतबहादुर गिरी, राजकुमार खड्गी, सुनिल महर्जन र रोशन भण्डारीलगायतले फरक–फरक मितिमा उजुरी दिएका थिए।

Leave a comment