Join our Channel

“सांसदको गम्भीर आरोपपछि कानुनमन्त्री चौरसियाको कडा चुनौती : प्रमाण छ भने सार्वजनिक गर”

"सांसदको गम्भीर आरोपपछि कानुनमन्त्री चौरसियाको कडा चुनौती : प्रमाण छ भने सार्वजनिक गर"

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आफूविरुद्ध आएको गम्भीर आरोपलाई अस्वीकार गर्दै स्पष्टिकरण दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसद अमरेशकुमार सिंहले ‘मन्त्रीले न्यायाधीशहरूलाई मुद्दा प्रभावित पार्न फोन गर्छन्’ भन्ने आरोप लगाएपछि मन्त्री चौरसियाले त्यसको कडा प्रतिवाद गरेका छन्।

“मलाई कुनै प्रमाण छ भने संसदमै पेस गर्नुस्,” मन्त्री चौरसियाले खुला चुनौती दिंदै भने, “निराधार र काल्पनिक आरोप संसद्भित्र राख्न मिल्दैन। यदि मेरो कल डिटेल जाँच गर्नुपर्छ भने सांसदको पनि जाँच गर्न सकिन्छ।”

सोमबार प्रतिनिधिसभाको बैठकमा कानुन मन्त्रालयको आगामी आर्थिक वर्षको बजेटबारे छलफल हुँदै गर्दा सांसद सिंहले आरोप उठाएका थिए। जवाफमा मन्त्री चौरसियाले न्याय क्षेत्रमा पार्टीको हस्तक्षेप नभएको दाबी गर्दै भने, “संविधान र कानुनको दायराभित्र रहेर मात्रै न्यायाधीश नियुक्ति भएको हो।”

मन्त्री चौरसियाले सांसद सिंहसँग कडा प्रश्नसमेत उठाए, “कानुनी परामर्शका लागि न्यायाधीशसँग कुरा गर्न पाइँदैन र?” उनले सांसद सिंहको आरोपको आधार माग्दै प्रमाणसहित दाबी प्रमाणित गर्न आग्रह गरे।

यसअघि असार ५ गते सिंहले संसदमा मन्त्री चौरसिया जिल्ला, उच्च र सर्वोच्च अदालतसम्मका न्यायाधीशलाई मुद्दासम्बन्धी कुरामा फोन गर्ने गरेको आरोप लगाएका थिए। उनले मन्त्री चौरसियाको कल डिटेल सार्वजनिक गरिनु पर्ने मागसमेत गरेका थिए।

Leave a comment