
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा देशमा हुने परिवर्तन र अग्रगमनको गति कमजोर हुने बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको होइन, विचार र नेतृत्वको पक्षपोषण गर्नुपर्नेमा जोड दिए।
“अहिले युवा संघको काँधमा असाधारण जिम्मेवारी छ,” प्रधानमन्त्री ओलीले भने, “स्थानीय तह निर्वाचनसम्म संघको नेतृत्व रहने भएकाले अहिलेको नेतृत्वले दीर्घकालीन योजना बनाएर असाधारण सक्रियताका साथ काम गर्नुपर्छ।”
उनले संघलाई सामाजिक न्याय, राष्ट्रिय हित, सुशासन र वैज्ञानिक दृष्टिकोणमा आधारित एमाले नीतिको प्रतिनिधि संगठनका रूपमा उभ्याउन निर्देशन दिए। साथै, गलत प्रचारको खण्डन गर्दै सही बाटोमा लाग्न आग्रह गरे।
ओलीले युवाहरूले नयाँ सोच र इनोभेटिभ कार्यमा अग्रसर हुनुपर्ने बताए। “विश्वका अधिकांश आविष्कार र परिवर्तन युवाहरूको हातबाट भएका छन्,” उनले भने, “त्यसैले युवाहरूले दक्षता हासिल गर्दै नयाँ उपलब्धिका लागि अघि बढ्नुपर्छ।”
उनले देश सही बाटोमा जानको लागि युवाहरू भ्रमित हुनु नहुने स्पष्ट पारे। “यदि युवाहरू भ्रमित भए भने परिवर्तनको गति सुस्त हुन्छ,” ओलीले भने, “युवाहरूलाई उद्यमशीलता र सकारात्मक सोचतर्फ उन्मुख गराउनु आवश्यक छ।”
कार्यक्रममा ओलीले विगतमा नेतृत्वको अभावका कारण आन्दोलन कमजोर बनेको स्मरण गर्दै अहिलेको समय जिम्मेवारीपूर्वक सही नेतृत्व प्रदान गर्न जरुरी रहेको बताए।
“हामीले जनताको बहुदलीय जनवादको नीति त लियौँ, तर नेतृत्वको स्पष्टता नभएपछि पार्टी असहज अवस्थामा गयो। अहिले सही नेतृत्वले पार्टीलाई मजबुद बनाउँदै अगाडि बढेको छ,” उनले थपे।