Join our Channel

काठमाडौंमा ‘भवन खाली गराइपाउँ’ सम्बन्धी विवाद बढ्दो, ५०% गुनासो यही विषयमा

काठमाडौंमा ‘भवन खाली गराइपाउँ’ सम्बन्धी विवाद बढ्दो, ५०% गुनासो यही विषयमा

काठमाडौं महानगरपालिकामा हाल सबैभन्दा धेरै आउने विवाद भवन खाली गराइपाउँ भन्ने विषयमा रहेको पाइएको छ। महानगरको न्यायिक समितिमा आउने झण्डै ५० प्रतिशत गुनासो यही विषयसँग सम्बन्धित रहेको उपप्रमुख सुनिता डंगोलले जानकारी दिएकी छन्।

उनका अनुसार, भवन खाली गराउने विवादहरूमध्ये धेरैजसो सहकारी संस्था तथा घरबहाल सम्बन्धी छन्। जसमध्ये बहाल रकम समयमा नतिर्नु, बहाल कर नबुझाउनु, सहकारी संस्था बन्द हुँदा उत्पन्न भएको क्षतिको पूर्ति माग गर्दै घर खाली गराइदिनेजस्ता विषय प्रमुख छन्।

डंगोलले भनिन्, “सहकारीको कारण घरमा क्षति पुगेको, बचत रकम फसिएको र सोही कारण घर खाली गरिदिनुपर्ने मागसहित धेरै उजुरीहरू आएका छन्।”

कामपामा यस्तो समस्या आउनुको मुख्य कारण घरबहालको समयमा स्पष्ट र लिखित सम्झौता नगर्नु, सम्झौतामा बहाल कर कसले तिर्छ भन्ने कुरा नखुलाउनु, वा दुईवटा अलग–अलग सम्झौता गर्नु रहेको कानुन तथा मानव अधिकार विभाग प्रमुख वसन्त आचार्यले बताए।

उनका अनुसार, कतिपय अवस्थामा सहकारी संस्थाले बहाल कर बुझाउँछ भनेर उल्लेख भए पनि त्यसको पालना हुँदैन। सहकारी संस्था बन्द भएपछि घरधनीलाई यसको जानकारी नहुने, तथा सहकारीका कर्मचारी वा पदाधिकारीसँग सम्पर्क हुन नसक्ने अवस्थाले झन् समस्या झन्झटिलो बनाएको छ।

डंगोलले समस्याको समाधानका लागि अधिकार सम्पन्न संयन्त्र आवश्यक रहेको र तत्काल ‘निदानात्मक कार्यक्रम’ लागू गर्नुपर्ने धारणा राखिन्। साथै, वित्तीय जोखिमलाई न्यून पार्न नागरिकहरूलाई सहकारी सम्बन्धी सचेतना दिने कार्यक्रमहरू सुरु गर्नुपर्ने बताइन्।

सहकारी संकटको मूल कारण:

विशेषज्ञहरूको अनुसार, सहकारीहरूमा देखिएको संकटको मुख्य कारणहरूमा आफ्नालाई प्राथमिकता दिएर ऋण दिने, उपभोगमा खर्च गर्ने प्रवृत्ति, सदस्यता लिएर मात्र ऋण लिन खोज्ने, कमजोर धितोमा ऋण दिने तथा मुनाफामुखी व्यवहार अपनाउने उल्लेख गरिएको छ।

Leave a comment