Join our Channel

खोपासी–तालढुंगा सडकमा स्काभेटर दुर्घटना, खानीखोला सडक पूर्ण अवरुद्ध

खोपासी–तालढुंगा सडकमा स्काभेटर दुर्घटना, खानीखोला सडक पूर्ण अवरुद्ध

काभ्रेको खानीखोला गाउँपालिका–१ अन्तर्गत स्याउरी थली र दाहाल डाँडा बीचमा निर्माणाधीन खोपासी–तालढुंगा सडकखण्डमा स्काभेटर पल्टिएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

सडक निर्माणका क्रममा अचानक जमिन भासिएर स्काभेटर सडकबाट तल खसेको हो। स्थानीय सरकारका अनुसार घटनामा मानवीय क्षति भने भएको छैन।

स्थानीयवासीहरूले बताएअनुसार दुर्घटना भएको स्थान निकै संवेदनशील भूभाग हो, जहाँ वर्षाले जमिन कमजोर बनाएको थियो। स्काभेटर पल्टिएपछि सो सडकखण्ड अवरुद्ध भएको र खानीखोलामा आवतजावत गर्ने एक मात्र प्रमुख सडक अस्थायी रूपमा बन्द भएको गाउँपालिका स्रोतले जनाएको छ।

घटनापछि खानीखोला गाउँपालिकाको जेसीबी प्रयोग गरेर स्काभेटर तान्ने प्रयास गरिएको थियो तर सफल हुन सकेन। पालिका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार सडक भासिएपछि स्काभेटर पल्टिएर सडक अवरुद्ध भएको हो।

हाल सो सडक सञ्चालनमा ल्याउन प्रयास भइरहेका छन्।

Leave a comment