
नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई अन्धकारबाट उज्यालोमा लैजान नयाँ नेतृत्वको आवश्यकता भएको बताएका छन्। गैरआवासीय नेपाली संघ (NRNA) र नेपाल जनजाति महासंघ, कतारद्वारा दोहामा आयोजित ‘उज्यालो संवाद’ कार्यक्रममा सम्बोधन गर्दै उनले देशभर निराशा फैलिएको उल्लेख गर्दै आशा जगाउन नेतृत्व परिवर्तन अपरिहार्य भएको बताए।
“नेपालमा अहिले विश्वासको संकट छ। राइट ठाउँमा राइट व्यक्ति नहुँदा देश अँध्यारोमा डुबेको छ। अब अँध्यारोलाई हटाएर उज्यालो नेपाल बनाउन नेतृत्व बदल्नुपर्छ,” – कुलमान घिसिङ
‘उज्यालो नेपाल’ अभियानको उद्देश्य स्पष्ट
घिसिङले ‘उज्यालो नेपाल अभियान’ मार्फत युवा नेतृत्व जन्माउने दीर्घकालीन लक्ष्य रहेको बताए।
उनको भनाइमा, देशसँग प्रशस्त श्रमशक्ति, अनुभव र पुँजी छ तर त्यहाँ नेतृत्वको खाँचो स्पष्ट छ।
“यो अभियान सामाजिक मात्र होइन, आर्थिक क्रान्तिको बाटो पनि हो, जुन समृद्ध नेपालतर्फको यात्रा हो,” उनले भने।
नेपाली प्रवासी समुदायप्रति चासो
घिसिङले खाडी राष्ट्रहरूमा नेपालीहरू पार्टीको नाममा बढी विभाजित भएकोप्रति चिन्ता व्यक्त गरे।
“विदेशमा पनि दलका झोला बोकेर हामी एकआपसमा लडिरहेका छौं। अब पार्टीभन्दा माथि उठ्नुपर्छ। कामका आधारमा समर्थन वा विरोध गरौं,” उनले आग्रह गरे।
रेमिट्यान्सको सदुपयोगमा जोड
खाडी राष्ट्रहरूमा रहेका नेपालीको अनुभव र पसिना देशको विकासमा उपयोग गर्नुपर्ने घिसिङको धारणा थियो।
“रेमिट्यान्सलाई जलविद्युत्, कृषि र पर्यटन विकासमा प्रयोग गर्नुपर्छ,” उनले बताए।
“तर, दुःख गरेर पठाएको पैसा सरकारले सम्मान गर्न सकेको छैन,” भन्दै उनले प्रवासी नेपालीलाई विमानस्थलमा अपमान गरिँदै आएको गुनासो पोखे।
कुलमान घिसिङले प्रवासी नेपालीसमक्ष नेतृत्व परिवर्तनको आवश्यकता, राष्ट्रिय एकताको आह्वान, रेमिट्यान्सको सदुपयोग र उज्यालो नेपालको सम्भावना स्पष्ट पारेका छन्। यो उनको सामाजिक संलग्नता र भावी योजनाहरूको स्पष्ट प्रतिबिम्ब हो।
नेपाललाई उज्यालो बनाउने बाटो नेतृत्वबाट सुरु हुन्छ, र त्यो नेतृत्व नयाँ पुस्ताबाट जन्मिनुपर्छ।