
जेन–जी आन्दोलनका क्रममा भएको आगलागीबाट क्षतिग्रस्त कार्यालयहरूलाई सेवा सञ्चालनमा सहज बनाउन लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ आरले चितवन जिल्ला प्रशासन कार्यालयलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको छ।
मंगलबार क्लबले १५ थान डेस्कटप कम्प्युटर र पाँचवटा प्रिन्टर हस्तान्तरण गरेको हो। डिस्ट्रिक गभर्नर नवराज सापकोटाले करिब पाँच लाख १० हजार रुपैयाँ बराबरका सामग्रीहरू जिल्ला प्रशासन कार्यालयलाई बुझाएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले विभिन्न संघ, संस्था र व्यक्तिहरू सहयोगका लागि प्रस्ताव ल्याइरहेको बताउँदै, एकद्वार प्रणालीमार्फत उपलब्ध भएका सामग्रीहरू प्राथमिकता अनुसार क्षतिग्रस्त कार्यालयहरूलाई वितरण गरिने जानकारी दिए।
उनका अनुसार, जेन–जी प्रदर्शनको दोस्रो दिन (भदौ २४ गते) दिउँसो प्रदर्शनकारीले अदालत, मालपोत, नापी, जिल्ला प्रशासन कार्यालयसहित करिब ८० वटा कार्यालयमा आगजनी गरी क्षति पुर्याएका थिए। धेरै कार्यालयमा कुर्सी र चलाउने उपकरणहरू नबचेकाले तत्कालका लागि ६०–६५ थान कम्प्युटर र सामान्य कुर्सीहरूको खाँचो रहेको उनले बताए।
प्रजिअ अर्यालले भने, “सहयोग गर्ने संस्था र व्यक्तिहरूको बाचा धेरै ठाउँबाट आएको छ। सुरुवात लायन्स क्लबले गरेको हो। क्षतिग्रस्त कार्यालयहरूको पुनःनिर्माण र सेवा सुरु गर्ने कार्यमा अन्य सहयोगी संस्था पनि जुट्दैछन्।”