
प्रहरीले ठूलो परिमाणको गाँजासहित एक कन्टेनर चालकलाई पक्राउ गरेको छ। त्रिभुवन राजपथअन्तर्गत भैँसे चेकपोष्टमा रोकिएको कन्टेनरबाट १५७ किलो १२० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
इलाका प्रहरी कार्यालय भीमफेदी र प्रहरी चौकी भैँसेको संयुक्त टोलीले मंगलबार बिहान पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा २ ख ३२१९ नं.को भाडाको कन्टेनर चेकजाँच गर्दा १२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको गाँजा फेला पारेको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालका अनुसार गाँजा कन्टेनरको पछाडिको डिब्बामा लुकाइएको अवस्थामा भेटिएको हो।
प्रहरीले गाँजासहित कन्टेनर चालक, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–८ बस्ने ४१ वर्षीय वीर बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका तामाङविरुद्ध लागुऔषध सम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।