Join our Channel

बेमौसमी फूलखेतीबाट १५ लाख आम्दानी : विदेश रोजगारी छाडेर किसान बने लोकेन्द्र

बेमौसमी फूलखेतीबाट १५ लाख आम्दानी : विदेश रोजगारी छाडेर किसान बने लोकेन्द्र

घोराही उपमहानगरपालिका–१४ झिङ्गौराका ४० वर्षीय लोकेन्द्र रोकामगरले वैदेशिक रोजगारी छाडेर सुरु गरेको बेमौसमी फूलखेतीबाट वार्षिक १० देखि १५ लाखसम्म आम्दानी गर्दै आएका छन्।

सात वर्ष कतारमा श्रम गरेर फर्किएका रोकामगरले विगत १३ वर्षदेखि सयपत्री फूलखेतीलाई व्यावसायिक रूपमा अगाडि बढाउँदै आएका छन्। हाल तीन बिघा जमिन भाडामा लिएर सञ्चालन गरेको जलजला पुष्प फार्ममार्फत उनले फूल खेतीसँगै माला उत्पादन, विवाह र पूजापाठका लागि आवश्यक विशेष माला बिक्री गर्दै आएका छन्।

आम्दानी र बजार

  • फूल : प्रतिकेजी रु. ४००
  • सामान्य माला : प्रतिथान रु. १००
  • बिहे/विशेष माला : प्रतिथान रु. १,०००

वार्षिक रूपमा उनले करिब ३५ लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दै आएका छन्, जसबाट १०–१५ लाखसम्म बचत हुने गरेको उनले बताए। चाडपर्व मात्र नभई वर्षभरि हुने सभा, सम्मेलन, विवाह, पूजालगायत कार्यक्रममा उनी फूल र माला आपूर्ति गर्छन्।

रोजगारी सिर्जना

रोकामगरले आफ्ना फार्ममार्फत स्थानीय केही युवालाई रोजगारी समेत दिएका छन्। साथै, विभिन्न प्रजातिका फूलका बिरुवा उत्पादन गरी बिक्री गर्ने कार्यले स्थानीय किसानलाई फूलखेतीतर्फ आकर्षित गरेको छ।

प्लास्टिक माला प्रतिबन्धको अपेक्षा

तिहार नजिकिँदै गर्दा रोकामगरले सरकारले प्लास्टिकका माला प्रतिबन्ध गरे फूलखेती गर्ने किसानलाई ठूलो राहत हुने बताए। पछिल्लो समय नागरिकहरूले पनि स्थानीय उत्पादनको ताजा फूलमाला प्रयोग गर्ने प्रचलन बढाएकोमा उनी खुसी छन्।

Leave a comment