Join our Channel

महोत्तरीका ६ स्थानीय तहको बजेट सार्वजनिक, गौशालादेखि पिपरासम्मको योजना खुलासा

महोत्तरीका ६ स्थानीय तहको बजेट सार्वजनिक, गौशालादेखि पिपरासम्मको योजना खुलासा

महोत्तरी जिल्लाका ६ स्थानीय तहले आ–आफ्नो आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मंगलबार सार्वजनिक गरेका छन्। बजेट सार्वजनिक गर्ने स्थानीय तहहरूमा गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, औरही नगरपालिका, बलवा नगरपालिका, पिपरा गाउँपालिका र सोनमा गाउँपालिका रहेका छन्।

यसअघि नै रामगोपालपुर, मनरा सिशवा, एकडारा, लोहरपट्टी, मटिहानी, महोत्तरी, सम्सी र भंगहा स्थानीय तहले बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन्। अब महोत्तरीका १५ स्थानीय तहमध्ये जलेश्वर नगरपालिकाबाहेक सबै १४ तहले आ–आफ्नो बजेट सार्वजनिक गरिसकेका छन्।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १४ औँ नगरसभामार्फत १ अर्ब १ लाख ५५ हजार ५ सय रुपैयाँको बजेट प्रस्तुत गरे। उक्त बजेट संघीय सरकारबाट प्राप्त अनुदान (५० करोड २४ लाख), प्रदेश सरकारबाट (२ करोड ५५ लाख १७ हजार), राजस्व बाँडफाँड (२० करोड ७ लाख ३८ हजार ३९२), र आन्तरिक स्रोत (२७ करोड १५ लाख १०८) बाट संकलन गरिने बताइएको छ।

बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद क्षेत्रीले १६ औं नगरसभामार्फत १ अर्ब २२ करोड ४० लाख १० हजार रुपैयाँको बजेट ल्याएका छन्। उनले बर्दिबासलाई शैक्षिक हबका रूपमा विकास गर्ने प्राथमिकता सहित विद्यालय भवन निर्माण, खेल मैदान, सीसीटिभी जडान, सूचना प्रविधिको विस्तार, उत्कृष्ट शिक्षक/विद्यार्थी पुरस्कृत गर्नेजस्ता कार्यक्रम घोषणा गरेका छन्।

औरही नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार खड्काले ४५ करोड २७ लाख ७७ हजारको बजेट पेश गरे भने बलवा नगरपालिकाका प्रमुख रामविजय महतोले ५२ करोड ९१ लाख ९४ हजार ५७६ रुपैयाँको बजेट सार्वजनिक गरे।

त्यस्तै, सोनमा गाउँपालिकाका अध्यक्ष विशेष्वरप्रसाद यादवले ४९ करोड ३८ लाख रुपैयाँको बजेट र पिपरा गाउँपालिकाकी उपाध्यक्ष बन्दना पाण्डेले ५३ करोड ५१ लाख ४७ हजार ३ सय रुपैयाँको बजेट पेश गरेकी छन्।

Leave a comment