Join our Channel

पत्रकार पक्राउ पुर्जी प्रेस स्वतन्त्रताविरुद्धको हमला हो : माओवादी

पत्रकार पक्राउ पुर्जी प्रेस स्वतन्त्रताविरुद्धको हमला हो : माओवादी

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी हुनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मर्मविपरीत भएको बताएका छन्।

माओवादीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमा हमला गरेको आरोप लगाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, “पत्रकार दिलभूषण पाठकमाथि समाचार सामग्रीको आधारमा पक्राउ पुर्जी जारी हुनु र नेपालखबर तथा बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको सरकारी आदेश हाम्रो गम्भीर ध्यानाकर्षणको विषय बनेको छ।”

सापकोटाले प्रेस काउन्सिलजस्ता नियामक निकायमार्फत् त्रुटिपूर्ण वा विवादास्पद समाचारलाई सुधार गर्ने वा प्रतिवाद गर्ने वैधानिक प्रक्रिया रहेको भन्दै सरकारले त्यसको पालना नगरेको आरोप समेत लगाए।

उनी भन्छन्, “माओवादी केन्द्र सधैं स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको पक्षमा छ। त्यसैले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधि तुरुन्त बन्द गर्न र जारी पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई जोडदार माग गर्दछौं।”

विज्ञप्तिमा थप भनिएको छ, “लोकतन्त्रको आधारस्तम्भमध्ये प्रेस स्वतन्त्रता एक महत्वपूर्ण खम्बा हो। यसको संरक्षण गर्नु लोकतन्त्रको आत्मा जोगाउनु हो। त्यसैले सरकारले लोकतान्त्रिक पद्धतिप्रति प्रतिबद्धता देखाउन जरुरी छ।”

यस विषयको पृष्ठभूमिमा पत्रकार दिलभूषण पाठकले आफ्नाे कार्यक्रम ‘टफ टक’ मार्फत् ‘हिल्टन होटलमा जयवीर देउवाको पैसा!’ भन्ने शीर्षकमा भिडियो सार्वजनिक गरेका थिए। उक्त सामग्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाको संलग्नता देखाइएको थियो।

यही विषयमा आपत्ति जनाउँदै जयवीर देउवाले साइबर ब्युरोमा उजुरी दिएपछि नेपाल प्रहरीले मंगलबार पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Leave a comment