
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक र जनताको हितलाई प्राथमिकता दिँदै सत्ता पक्षसँग दुई बुँदे सहमति गरिएको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष दाहालले भिजिट भिसा प्रकरणमा छानबिन गर्न विशेष समिति गठन गरेर अघि बढ्ने सहमति भएको जानकारी दिए। उनले सो प्रकरण गम्भीर भएकाले सत्य तथ्य पत्ता लगाउन छानबिन अपरिहार्य भएको बताए।
उनले प्रतिनिधि सभामा हालसम्म अवरुद्ध रहेको बैठक सञ्चालनमा ल्याउने निर्णय पनि जनहितकै लागि गरिएको स्पष्ट पारे। “निजामती सेवा र शिक्षा क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरु तत्काल पारित गर्नुपर्ने भएकाले संसद् अवरुद्ध अवस्थाबाट हटाइएको हो,” उनले भने।
सो अवसरमा पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिहरूको सक्रिय राजनीतिमा पुनः प्रवेशका सम्भावनालाई दृष्टिगत गर्दै आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उनले यस विषयमा चाँडै पहल गरिने संकेत पनि दिए।