Join our Channel

४ जिपिए ल्याउँदै मदरल्याण्ड माविका ११ विद्यार्थीको गण्डकीमै उत्कृष्ट सफलता

४ जिपिए ल्याउँदै मदरल्याण्ड माविका ११ विद्यार्थीको गण्डकीमै उत्कृष्ट सफलता

पोखरा महानगरपालिका–७ मारबारस्थित मदरल्याण्ड माविका ११ जना विद्यार्थीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८१ मा ४ जिपिए ल्याएका छन्। शुक्रबार साँझ प्रकाशित नतिजाअनुसार, विद्यालयले यसपालि गण्डकी प्रदेशमै उत्कृष्ट सफलता हासिल गरेको दाबी गरेको छ।

विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार १६६ जना सहभागी विद्यार्थीहरुमध्ये ११ जनाले पूर्ण जिपिए ४ ल्याएका हुन्। ती विद्यार्थीहरूमा अभिनव पराजुली, आमन गुरुङ, आरध्ये पौडेल, दिव्या पराजुली, अर्पण पौडेल, विशेष बन्जारा, ऋतिका यादव, ओशन त्रिपाठी, साक्षि भण्डारी, सभ्य मल्ल र शास्वत रेग्मी छन्।

प्राचार्य बरालले विद्यालयको मेहनत, शिक्षकहरूको समर्पण र अभिभावकको साथले यो सफलता सम्भव भएको बताए। ‘पोहोर १० जनाले ४ जिपिए ल्याएका थिए भने यस वर्ष ११ जना पुग्नुले हाम्रो शैक्षिक गुणस्तर झनै बलियो भएको छ,’ उनले भने।

विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले समेत सबैको साझा प्रयासले उत्कृष्ट नतिजा आएको बताएका छन्। उनका अनुसार, ४ जिपिए ल्याएका विद्यार्थीमध्ये ८ जनाले कक्षा ८ को बीएलइ परीक्षामा पनि ४ जिपिए ल्याएका थिए र पोखरा महानगरपालिकाबाट पुरस्कारसमेत प्राप्त गरेका थिए।

विद्यालयले विगतका वर्षहरूमा १२ कक्षाको नतिजामा समेत नेपाल टप गर्ने सफलता हासिल गरिसकेको छ। यो पटकको नतिजाले मदरल्याण्डको शैक्षिक इतिहासलाई अझ सशक्त बनाएको विद्यालयको भनाइ छ।

प्राचार्य बरालले भने, ‘हामीले लामो समयदेखि शैक्षिक उत्कृष्टतामा केन्द्रित प्रयास गर्दै आएका छौं। अबका दिनमा अझै बलियो ढंगले शैक्षिक गुणस्तरलाई कायम राख्न हामी कटिबद्ध छौं।’

Leave a comment