
मुगु जिल्लाको छायानाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन्। गमगढीबाट सामान बोक्दै मुगुम कार्मारोङ गाउँपालिकातर्फ गइरहेका खच्चरहरूलाई नेपाल विद्युत प्राधिकरण गमगढ वितरण केन्द्रअन्तर्गतको ट्रान्समिटरबाट विद्युत चुहावट हुँदा करेन्ट लागेको हो।
स्थानीय खच्चड व्यवसायी तथा छायानाथ–१ निवासी कन्नबहादुर मल्लका अनुसार, आइतबार दिउँसो पानी परिरहेको बेला सडक छेउमा रहेको ट्रान्समिटरबाट विद्युत जमिनमा बगेको थियो। उनले भने, “हामीलाई थाहा नभए पनि जमिनमा करेन्ट फैलिएको रहेछ। एक्कासी १० वटा खच्चर लडेर मरे। मलाई पनि करेन्ट लागेको थियो, तर चप्पल लगाएको हुनाले सामान्य झड्कामात्र आयो।”
उनका अनुसार एउटा खच्चरको मूल्य एक लाख ५० हजार रुपैयाँभन्दा बढी पर्छ। उनले सम्पूर्ण खच्चरको क्षतिपूर्तिका लागि नेपाल विद्युत प्राधिकरणसँग माग गरेका छन्।
मृत्यु भएका खच्चरहरूमा छायानाथ रारा–१ का कर्णबहादुर मल्लका चारवटा, वडा नं. १० का जग्गी बढुवाल र पृथ्वीबहादुर ऐडीका तीन–तीन वटा खच्चर रहेका छन्। यसअघि पनि कम्फा गाउँका खड्कबहादुर बुढाको भैँसी गत शुक्रबार करेन्ट लागेर मरेको थियो।
स्थानीयबासी जग्गी बढुवालले विद्युत सेवा व्यवस्थित र सुरक्षित नहुँदा दैनिक समस्या भोग्नु परेको बताए। “हामी यहाँ हरेक वर्ष जनावर मर्छन्, कसैले सुनुवाइ गर्दैन,” उनले भने।
नेपाल विद्युत प्राधिकरण गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले वर्षा र हुरीबतासका कारण विद्युत लाइनमा समस्या आएको स्वीकारे। उनले भने, “हामीले यसबारे प्रदेश र केन्द्रमा क्षतिपूर्तिको सिफारिस गर्नेछौं।”