
धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित मुस्ताङ जिल्लामा सन् २०२५ को जनवरीदेखि सेप्टेम्बर २८ सम्म १ लाख ८ हजार ६८६ जना विदेशी पर्यटक पुगेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार यो संख्या गत वर्षको सोही अवधिमा आएका १ लाख २ हजार ८९४ भन्दा ५.३२ प्रतिशतले बढी हो।
सन् २०२४ मा मुस्ताङमा कुल १ लाख ३५ हजार ७१९ जना विदेशी पर्यटक पुगेका थिए। सोही अनुपातलाई निरन्तरता दिन सन् २०२५ को अन्त्यसम्म अझै करिब २७ हजार ३३ जना अर्थात् १९.९१% पर्यटक वृद्धि आवश्यक रहने एक्यापले जनाएको छ।
तर, यस वर्षको पर्यटन ‘सिजन’मा प्रतिकूल मौसम र जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिबाट विदेशी पर्यटकको संख्या केही कम भएको एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिए।
उनका अनुसार सन् २०२४ को सेप्टेम्बर महिनामा मात्र ११ हजार ७८५ जना विदेशी पर्यटक मुस्ताङ प्रवेश गरेका थिए।
मुस्ताङमा अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका पृथक भूगोल, प्राचीन धार्मिक गुम्बा, मठमिन्दर, माने छोर्तेन, पुराना मानव निर्मित संरचना र हिमशृङ्खला हेर्न विदेशी पर्यटक आकर्षित हुने गरेका छन्। साथै, लोमान्थाङ दरबार, छोसेर गुफा, मुक्तिनाथ मन्दिर, ढुम्बाताल लगायतका स्थल यहाँका प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेका छन्।