
दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले गत हप्ताको आन्दोलनका क्रममा तोडफोडका घटनाबाट आफ्ना विभिन्न कार्यालयहरूमा ठूलो क्षति पुगेको जनाएको छ। काठमाडौंस्थित एनसेल आइकम मुख्य कार्यालयसहित महेन्द्रनगर, धनगढी र पोखरास्थित क्षेत्रीय कार्यालयहरूमा गम्भीर क्षति भएको कम्पनीले जानकारी दिएको हो।
एनसेलले यी घटनाले भौतिक सम्पत्तिमात्र नभई कर्मचारीको सुरक्षा र सेवाको निरन्तरतामा पनि चुनौती थपेको उल्लेख गर्दै, अझै दृढ संकल्पका साथ जनताको सेवामा निरन्तर समर्पित रहने प्रतिबद्धता दोहोर्याएको छ।
कम्पनीका अनुसार, संकटको समयमा पनि ग्राहकलाई सहज सेवा उपलब्ध गराउन तीन दिनसम्म निःशुल्क लोकल भ्वाइस कल, एसएमएस र इन्टरनेट सेवा उपलब्ध गराइएको थियो।
एनसेलले नेपालमा विगत २० वर्षदेखि दूरसञ्चार क्षेत्रमा योगदान दिँदै आएको बताउँदै रोजगारी सिर्जना, डिजिटल नेपाल निर्माण र आर्थिक वृद्धिमा निरन्तर सहयोग गरिरहेको जनाएको छ।
कम्पनीले हालैको आन्दोलनलाई परिवर्तनको रुपमा स्वागत गर्दै भनेको छ —
“यो परिवर्तनले सबै नेपालीका लागि एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो सामूहिक आशा छ। हामी फेरि उठ्नेछौं, तपाईंहरूसँगै।”