
राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नै पुर्ख्यौली खेतमा धान रोपेका छन्।
गोरखा जिल्लाको पालुङटार नगरपालिका–१ खोप्लाङस्थित बेलवासटारमा रहेको खेतमा आइतबार भट्टराई धान रोपाइँमा सहभागी भएका हुन्। हातमा कोदाली बोकेर खेतमा पुगेका भट्टराईले बाउसे गरे, हाते ट्र्याक्टर चलाए र स्वयम् धान रोपे।
रोपाइँ कार्यक्रममा भट्टराईकी पत्नी तथा पूर्वमन्त्री हिसिला यमी पनि सहभागी भइन्। भट्टराईले ८ रोपनी क्षेत्रफलको आफ्नो खेतमा उन्नत जातको ‘सुख्खा २’ धान रोपेका छन्। उक्त जग्गा उनकी छोरी मानुसी यमी भट्टराईको नाममा दर्ता छ।
१० रोपनी क्षेत्रफलमा फैलिएको रोपाइँका लागि स्थानीय मण्डली महिला किसान क्लबको संयोजनमा १० जना खेतालाको सहयोग लिइएको थियो।
कार्यक्रमका क्रममा भट्टराईले नेपालको जमिन र हावापानी कृषिका लागि उपयुक्त रहेकाले कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नुपर्ने बताए। “देशका ६० प्रतिशत जनता कृषि पेशामा आश्रित छन्,” उनले भने, “तर उत्पादन र रोजगारीको अभावले युवाहरू विदेश पलायन हुन बाध्य छन्।”
उनले परम्परागत तरिकाबाट नभई, मेसिन र आधुनिक प्रविधिको प्रयोग गरेर कृषिमा रूपान्तरण आवश्यक रहेको बताए। सिँचाइ सुविधा पुग्ने ठाउँमा दुईवाली धान र नगदे बाली सम्भव रहेको पनि उनले उल्लेख गरे।
“उन्नत जातको बीउ प्रयोग गरौं, यन्त्रिक खेतीमा जानुपर्छ,” उनले भने, “राज्यले बजारको ग्यारेन्टी गर्नुपर्छ, विदेशबाट आउने आयातमा कर लगाउनु पर्छ। कृषि आधुनिकीकरणले रोजगारी सिर्जना गर्न सक्छ।”
उनको भनाइमा कम्तीमा २० प्रतिशत युवालाई आधुनिक खेतीमा तालिम दिन सके देशको अर्थतन्त्र बलियो बनाउन सकिनेछ।