Join our Channel

लहान उपमेयरले डेढ तोला सुन उधारो लिएर नतिरेपछि उजुरी

लहान उपमेयरले डेढ तोला सुन उधारो लिएर नतिरेपछि उजुरी

सिरहाको लहान नगरपालिकाका उपमेयर रामचलितर महतोविरुद्ध सुन लिएर पैसा नतिरेको आरोपमा नगरपालिका कार्यालयमै उजुरी परेको छ।

लहानस्थित ‘विकास ट्रेडर्स’ नामक सुन पसलका सञ्चालक राजाराम सारदाले आइतबार लहान नगरपालिकामा उजुरी दिएका हुन्। उजुरीमा उल्लेख भएअनुसार, उपमेयर महतोले २०८१ साउन ३० गते डेढ तोला सुन खरिद गरेका थिए, जसको मूल्य २ लाख ५१ हजार ४ सय ३० रुपैयाँ थियो।

महतोले खरिदपश्चात ४–५ दिनभित्र रकम बुझाउने बताएका थिए तर अहिलेसम्म तिर्न सकेका छैनन्। पसल सञ्चालक सारदाका अनुसार, पटकपटक ताकेता गर्दा पनि कुनै चासो नदिएको र तिर्ने सम्भावना नदेखिएकोले बाध्य भएर उजुरी दिनुपरेको हो।

“उहाँ सार्वजनिक पदमा हुनुहुन्छ। हामीले धेरै सहज तरिकाले सम्झायौं, तर उहाँको मनसाय देखिएन,” सारदाले गुनासो गरे।

नगरप्रमुख महेशप्रसाद चौधरीले उक्त उजुरी प्राप्त भएको पुष्टि गर्दै प्रमुख प्रशासकीय अधिकृतलाई बोर्ड बैठकमा विषय पेस गर्न निर्देशन दिएको बताए।

उता, उपमेयर महतोले भने आफूहरूबीच कुनै आन्तरिक कुरा भए पनि उजुरी परेकोबारे जानकारी नभएको र घटनाबारे बुझ्ने प्रतिक्रिया दिएका छन्।

Leave a comment