
रुपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलतर्फ सोमबारदेखि नयाँ आगमन कक्ष सञ्चालनमा आएको छ। ५० वर्षअघि निर्माण गरिएको पुरानो आगमन कक्ष साँघुरो र असुविधाजनक भएकाले यात्रु र आफन्तलाई समस्या भइरहेकोमा अब फराकिलो र सुविधासम्पन्न कक्षमार्फत सहज सेवा उपलब्ध भएको हो।
महाप्रबन्धक प्रतापबाबु तिवारीले काठमाडौंबाट आएको बुद्ध एयरको विमानमार्फत भैरहवा आइपुगेका ७५ वर्षीय गणपति भण्डारीलाई पुष्पगुच्छा अर्पण गरी नयाँ कक्षको सुरुवात गरे। त्यतिबेला आगमन हुने यात्रुहरुलाई विमानस्थलले लड्डु वितरण गरेर स्वागत गरेको थियो।
नयाँ कक्ष सञ्चालनसँगै यात्रु कोचाकोच हुने समस्या र आफन्तले लामो समय घाममा पर्खिनुपर्ने बाध्यता अन्त्य भएको छ। महाप्रबन्धक तिवारीका अनुसार यात्रुको सुरक्षासँगै सहज सुविधा पनि महत्वपूर्ण भएकाले नयाँ कक्षमा विश्रामका लागि बेन्च, छुट्टै कार्गो काउन्टर र सामान बुझ्ने सहज प्रक्रिया लागू गरिएको छ।
यसअघि सामान लिन पास लिनुपर्ने झन्झट अब हटेको छ र यात्रुले बाहिरैबाट सामान प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। त्यस्तै पुरुष र महिलाका लागि फराकिला शौचालयको समेत व्यवस्था गरिएको छ।
विमानस्थलले आगामी २/३ महिनाभित्र यात्रुका सामान ओसार्न स्वचालित कन्भेयर बेल्ट जडान गर्ने तयारी गरेको छ। हाल टेन्डर प्रक्रिया सुरु भएको छ। साथै पुरानो टर्मिनल विस्तारको काम पनि चाँडै सुरु गरिने भएको छ।
महाप्रबन्धक तिवारीका अनुसार, “आन्तरिक टर्मिनल विस्तारका लागि डिजाइन तयार भइसकेको छ र छिट्टै ठेक्का प्रक्रियामा जानेछ। यात्रुलाई आवश्यक सम्पूर्ण सुविधा क्रमशः थपिनेछ।”