
संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–४ मान्तेवा र भोजपुरको साल्पासिलिछो गाउँपालिका–२ बुम्लिङटार जोड्ने संखुवा खोलामाथिको नयाँ बेलिब्रिज आइतबारबाट सञ्चालनमा आएको छ।
स्थानीय विकास र यातायात सुविधालाई ध्यानमा राख्दै सिलिचोङ गाउँपालिकाले उक्त बेलिब्रिज राष्ट्रिय गौरवको आयोजना अन्तर्गत आफ्नै बजेटमा निर्माण सम्पन्न गरेको हो। गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङले बेलिब्रिजको औपचारिक उद्घाटन गरे।
उनका अनुसार, झण्डै ४ करोड ३९ लाख रुपैयाँको लागतमा ३९ मिटर लामो यो बेलिब्रिज निर्माण गरिएको हो। यसअघि स्थानीय बासिन्दाहरू काठ र बाँसले बनाइएको फड्के प्रयोग गरेर जोखिम मोलेर खोला पार गर्थे।
बेलिब्रिज सञ्चालनमा आएपछि सिलिचोङ गाउँपालिका अन्तर्गत मान्तेवा, याफू र ताम्कु गाउँहरूमा आवतजावत सहज र सुरक्षित भएको छ। ती गाउँहरूमा करिब ३ हजारभन्दा बढी जनसंख्या बसोबास गर्छन्।
छिमेकी भोजपुरको बुम्लिङटारबाट पनि खाँदबारीसम्मको यात्रा अब धेरै सजिलो भएको छ। स्थानीयबासीहरूले पुल सञ्चालनमा आएकोमा हर्ष व्यक्त गरेका छन्।