Join our Channel

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर

२४ लाख ५० हजार घुससहित मालपोत प्रमुख र कार्यालय सहयोगीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भक्तपुर चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गा मोही र लगत कट्टा गरी जग्गाधनी प्रमाण पुर्जा बनाउनका लागि घुस रकम माग गरिएको सूचनाको आधारमा टंगालस्थित अख्तियारको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

टोलिले मालपोत प्रमुख आचार्यको मोबाइल डिभाइस, कार्यालय सहयोगी राउतको साथबाट मोबाइल डिभाइस र घुस रकम २४ लाख ५० हजार रुपैयाँसहित भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरको परिसरमै पक्राउ गरेको आयोगले जनाएको छ।

आयोगले प्रतिवादीद्वयको घुस लिएको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी कैद र जरिवाना सजायको मागसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Leave a comment