
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पूर्वी भूभागभन्दा पश्चिमतर्फ मनसुन बढी सक्रिय छ। मनसुनको न्यून चापीय रेखा तराई आसपास र पूर्वमा तराईभन्दा केही दक्षिणतिर रहेको छ।
आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा साधारणतया बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका केही स्थानमा र मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।
त्यस्तै, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ।
आज राति देशका पहाडी भागमा साधारणतया बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुनेछ। गण्डकी प्रदेशका पहाडी तथा तराई भाग र वाग्मती, लुम्बिनी तथा कर्णाली प्रदेशका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने सम्भावना छ।
महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा डेब्रिज फ्लोको जोखिम उच्च रहने, साना तथा ठूला नदी-नालामा पानीको सतह बढ्न सक्ने र यातायात अवरुद्ध हुन सक्ने भन्दै सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न सबैलाई अनुरोध गरेको छ।