
धनुषामा प्रहरीले गोली प्रहार गर्दै दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। बुधबार मिथिला नगरपालिका–२ नक्टाझिजमा भएको कारबाहीमा प्रहरीले दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।
धनुषाका डिएसपी बरुणबहादुर सिंहका अनुसार पक्राउ पर्नेमा मिथिला–२ का पप्पु शाह र सेली देवी राम रहेका छन्। प्रहरीको सूचनाअनुसार चेकजाँच गर्दा बा.८७ ना.९६७ नम्बरको गाडीमा सवार दुवैले भाग्ने प्रयास गरेपछि प्रहरीले दुई राउण्ड गोली प्रहार गरेको थियो। एक राउण्ड हवाई फायर र अर्को गोली पप्पु शाहको खुट्टामा लागेको छ। उनको उपचार जानकी मेडिकल कलेज रमदैयामा भइरहेको छ।
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको संयुक्त टोलीले उक्त कारबाही गरेको प्रहरीले जनाएको छ।