
झापामा पुनः कोभिड संक्रमण देखिएपछि जिल्ला प्रशासन र स्वास्थ्य कार्यालय सतर्क बनेका छन्। हालै झापामा ८ जना संक्रमित भेटिएका छन् भने १५ हजार मात्रा फाइजर खोप पनि आइपुगेको छ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीका अनुसार, नयाँ खोप तालिकासहित फाइजर खोप आएको हो। “झापाका पालिकासँग समन्वय गरेर खोप वितरण हुनेछ,” उनले भने, “अब नयाँ तालिकाअनुसार खोप अभियान अघि बढ्नेछ।”
स्वास्थ्य कार्यालयले पाँचवटा समूहलाई प्राथमिकतामा राखेर खोप वितरण गर्ने जनाएको छ। ती समूहहरूमा रोग प्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिको उमेर समूह र ५ देखि ११ वर्षका अन्य बालबालिका पर्छन्।
हालसम्म झापाका ५ जना, मोरङ, इलाम र दोलखाका एक–एक जना गरी ८ जना संक्रमित भेटिएका छन्। संक्रमित देखिएपछि मेचीनगरको काँकरभिट्टा नाकामा शङ्कास्पद यात्रुहरूको कोभिड परीक्षण थालिएको छ।
“नाकामा तीन जना स्वास्थ्यकर्मी खटिएका छन्,” प्रमुख बाराकोटीले बताए, “तर, जटिल प्रकृतिका बिरामीलाई कुन अस्पतालमा राख्ने भन्नेमा अझै अन्योल छ।”
स्वास्थ्य विशेषज्ञहरूले सतर्कता अपनाउन र खोप लगाउन आग्रह गरेका छन्, किनभने संक्रमणको जोखिम अझै टरिसकेको छैन।