
विर्तामोड नगरपालिका–५ का बहुअपाङ्गता भएका तिनै जना तिम्ल्याहा दिदीबहिनीले घरमै बसेर नागरिकता र अपाङ्गता प्रमाणपत्र प्राप्त गरेका छन्। १७ वर्षीया आकृति लिम्बू, इक्सा लिम्बू र इन्तुसा लिम्बूले घरमै बसी यो महत्वपूर्ण सेवा प्राप्त गरेका हुन्।
नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला स्वयं उनीहरूको घरमै पुगेर ‘क’ वर्गको अपाङ्गता परिचयपत्र (रातो कार्ड) हस्तान्तरण गरेका हुन्। तीमध्ये इन्तुसा लिम्बूको अवस्था निकै जटिल छ – उनी आफैं ओछ्यानबाट उठ्नसमेत सक्दिनन्।
छोरीहरूको स्याहारमा जुटेकी आमा मनकुमारी शेर्माले भनिन्, “एकैपटक तीन छोरी जन्मिँदा ठूलो खुसी पाएको थिएँ, तर अहिले एक छोरीलाई ओछ्यानमै राख्नुपरेको छ।”
सरकारी सेवा अन्तर्गत प्रदान गरिने अपाङ्गता भत्ता पनि उनीहरूले पाउने भएका छन्। साथै नगरपालिकाले तिनैजनाको उपचारमा आवश्यक सहयोग गर्ने उपप्रमुख सङ्ग्रौलाले जानकारी दिएका छन्।