
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संघीय निजामति सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित वाइसिएल (युवा कम्युनिष्ट लिग) को केन्द्रीय पदाधिकारी बैठकमा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नहुने बताए।
उनले भने, “संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रयास भइरहेको छ। संघीय निजामति विधेयकमा पनि षड्यन्त्र भएको छ। त्यसको छानबिन गरी बदमासी गर्नेहरूलाई कारबाही गर्नुपर्छ।”
दाहालले यस्ता षड्यन्त्रहरू पहिले पनि भइरहेका थिए भन्ने जनाउँदै, अहिले पुनः त्यस्तै प्रवृत्ति देखिन थालेको बताए। उनले यथास्थिति र प्रतिगमनतर्फ उन्मुख शक्ति विरुद्ध माओवादी केन्द्रले सङ्घर्ष जारी राख्ने स्पष्ट गरे।
त्यस अवसरमा उनले वाइसिएल नेपाललाई पार्टीको विचार, सिद्धान्त र विधानप्रति पूर्ण प्रतिबद्धताका साथ जनसमक्ष जानुपर्ने आवश्यकता औंल्याए। “वाइसिएल पार्टीको उत्तराधिकारी संगठन हो। यसले प्रतिक्रियावादी षड्यन्त्रलाई चिर्नुपर्छ,” दाहालले भने।